

काठमाडौं । सगरमाथामा आरोहण गर्न जानेहरु हराउने र मृतकको शव खोज्न पनि समस्या हुने भएपछि सरकारले यो वर्षबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र मृतकहरुको शव खोज्न सहज हुने भएकाले विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।
पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यो चिप्सको लागि हिमाल आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने विद्युतीय चिप्सले पर्वतारोहण थप सुरक्षित हुने सरकारको अपेक्षा छ । तत्काल उद्धारसँगै चिप्स लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने निर्देशक गुरुङले बताउनुभयो । हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिप्सबाट पत्ता लगाउन सकिने विभागको दाबी छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप्स जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । यस्तो चिप्स युरोप तथा अमेरिका लगायतका देशमा हुने आरोहणमा लामो समयदेखि प्रयोग भइरहेको छ । सगरमाथा आरोहणमा आरोहीहरूको साथमा अरु गाइड तथा टोली रहने हुँदा दुर्घटना कहाँ भयो भन्ने थाहा हुन्छ । तर हिमपहिरो, हिउँ खाडल, लडेर टाढा पुगेपछि हिउँले पुरिनु लगायतका कारण कतिपय आरोहीहरु हिमालमै हराउँछन् । सुरक्षित हिमाल आरोहण तथा हराउनेहरुको खोजीका लागि पनि विद्युतिय चिप्स महत्वपूर्ण हुने आरोहणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।