

काठमाडौं । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सिबिआई हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको बताउनु भयो ।
पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी २ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।
डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी रहेको र वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीसँग मिलेर लुटपाट गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, खुकुरी एक थान बरामद भएको बताएको छ ।