

विराटनगर । मदन भण्डारी फाउण्डेसनसँगको सहकार्यमा विराटनगर ओपन स्काउट क्र्युले लागू औषध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको छ ।
स्थानीय स्काउट कार्यालय विराटनगरको व्यवस्थापनमा भएको तालिममा कोशी प्रदेशका ११ वटा पालिकाहरुका ५५ जना रोभर, रेन्जर तथा स्काउट लिडरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागू औषधको दूव्र्यसनले विकराल रुप लिएको भन्दै यसप्रति सबै सचेत हुने बेला आएको बताउनुभयो ।
उहाँले १ स्काउटकर्मीले १० जना लागू औषध प्रयोगकर्तालाई सुधार गरेर अघि बढ्ने गरी काम गर्न आग्रह गर्नुभयो । तालिममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, मदन भण्डारी फाउन्डेसनका गीरेन्द्र कार्की, स्काउट प्रदेश सामुदायिक विकास आयुक्त रिता पाठक, प्रदेश युवा परिषद अध्यक्ष किरण बुढाथोकी, विराटनगर स्थानीय प्रमुख आयुक्त नविन पहाडीलगायतकाको सहभागिता रहेको थियो ।
विराटनगर ओपन स्काउट क्रयूका अध्यक्ष नवलप्रसाद उपाध्यायले लागू औषधको प्रयोग र कारोबारले समाज र देशलाई नै नकरात्मक असर परिरहेको भन्दै त्यसलाई न्यूनिकरण गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।
लागूपदार्थ विरुद्ध युवाहरुलाई सचेत गराई असल नागरिक बनाउने उदेश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले आफ्नो स्थानीय तहमा रहेका विद्यालयहरुमा लागु पदार्थ विरुद्ध सचेतना तालिम सञ्चालन गर्ने उहाँले बताउनुभयो । यस्तै समुदायमा पनि लागू पदार्थ दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
तालिमलाई प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरीक्षक राम तिम्सीनाले सहजिकरण गर्नुभएको थियो ।