

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
.
अमेरिकाको उत्तर क्यारिलोनामा बिहीबार सम्पन्न सेमीफाइनलमा बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई एक शुन्यले स्तब्ध बनाउँदै कोलम्बियाले फाइनलको यात्रा तय गरेको हो ।
जितसंगै कोलम्बियाले आउँदो आइतबार अमेरिकाको मायामीमा हुने उपाधिका लागि साविक विजेता अर्जेन्टिनाको सामना गर्ने भएको छ ।
सेमीफाइलनमा १५ पटक कोपा अमेरिकाको विजेता टोली उरुग्वेलाई पराजित गर्ने क्रममा कोलम्बियाका लागि जेफर्सन लेर्मा नायक बने ।
फाइनलमा स्थान पक्का गरेको कोलम्बियाका लागि खेलको ३८ औं मिनेटमा कप्तान जेम्स रोड्रिगेजले प्रहार गरेको कर्नरमा लेर्माले आकर्षक गोल गरेका थिए ।
सन् २००१ मा पहिलोपटक कोपा अमेरिकाको उपाधि चुमेको कोलिम्बयाको लागि सोही गोल अन्ततः निर्णायक बनेको थियो ।
रोमान्चक बनेको खेलमा उरुग्वेले दबाव बनाएपनि ४६ औं मिनेटमा दोहरो पहेलो कार्ड पाएर कोलम्बियाका ड्यानिएल मुनोज मैदान बाहिर भएका थिए ।
१० जना खेलाडीमा सीमित कोलम्बियाका लागि कोपा अमेरिकामा कप्तान रोड्रिगेजले नयाँ कीर्तिमान बनाउन सफल भए । उनले कोपा अमेरिकाको एकै संस्करणमा गोलका लागि ६ वटा एसिस्ट बल उपलब्ध गराएर कोपा अमेरिकामा कीर्तिमान बनाएका हुन् ।
यसअघि सन् २०२१ अर्मेन्टिनाका लियोनेल मेस्सीले पाँच पटक एसिस्ट बलको कीर्तिमान बनाएका थिए । अर्कोतर्फ, फाइनलमा प्रवेश गरिसकेको अर्जेन्टिनाले सेमीफाइनलमा क्यानडालाई दुई शुन्यले पराजित गरेको थियो ।