

धरान । धरानमा सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।
पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो ।
सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुभएको थियो ।
उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा बिरामी भएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका उल्लेख गर्नुभएको छ ।
धरानका मेयर साम्पाङले महिलाहरू पक्राउ परेपछि सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर भनेर लेखेका छन् । यस्तै उनले त्यसपछि पनि अर्को स्टाटस लेखेका छन् । उनले लेखेका छन्,‘दमन नगर विस्फोट होला । शान्ति सुरक्षा सबैको जिम्मेवारी हो । आ आफ्नो भूमिकामा इमानदार रहौँ । जय देश ।’
केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी सञ्जीता धमलाले धरानका जनप्रतिनिधिहरुले घुस खाने गरेको भन्दै प्रश्न गरेकी थिइन् । उनले प्रश्न गरेपछि मेयर साम्पाङले धमलालाई कार्यालयमा बोलाएर पक्राउ गर्न निर्देश दिएका थिए ।
उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि लछार पछार भएको थियो । सञ्चारकर्मी भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
धमलालाई कारावाही नभएको भन्दै धरानका मेयर साम्पाङले कारवाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएका थिए ।
धमलालाले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएकी छन् ।