

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सुरु गरेको फुटपाथ बिस्तारको काममा स्थानीयले अबरोध गरेका छन् । सडक फराकिलो हुनु पर्ने भन्दै उनीहरुले विरोध गर्दै काम गर्न अवरोध गरे ।
शुक्रवार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तारको काम थाले पछि स्थानीय र व्यवसायीहरुले बिरोधमा उत्रिएका थिए ।
स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् । त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ बिस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।