

विराटनगर । विराटनगरकी एक महिलाले डाक्टर श्रीमानले शारीरिक र मानसिक यातान दिएको आरोप लगाएकी छिन ।
विराटनगर ११ जनपथ टोलकी ४३ बर्षिय सुनिता साहले शुक्रबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजन गर्दै आफु श्रीमानबाट असह्य शारीरिक र मानसिक हिंसामा परेको गुनासो गरेकी हुन् ।
उनले श्रीमान डा.श्यामप्रसाद साहको कुटपिट, धाकधम्की तथा ज्यान मार्नेसम्मको धम्कीका कारण जीवन खतरामा रहेको बताइन । साहले संचारकर्मीहरुलाई आफुलाई कुटपिटको क्रममा घाउचोट लागेको तस्वीरहरु समेत उपलब्ध गराएकी छिन ।
श्रीमान परस्त्रीसंग लागेको र आफुले विरोध जनाउँदा घरबाट निकालिदिने तथा पटकपटक निलडाम हुनेगरि निर्घात कुटपिट गर्ने गरेको दाबी गरिन । श्रीमानको कुटपिट र अत्याचारका बिषयमा आफुले पटकपटक प्रहरी प्रशासन सहित सम्बन्धित निकायहरुमा उजुरी दिएको बताउँदै साहले सम्बन्धित निकायहरुको निर्देशन विपरीत पतिले यातना दिन नछोडेको बताइन ।
पछिल्लो ३ महिना यता श्रीमान घर नै नआउने तथा घर खर्च समेत नदिने गरेका कारण ६ बर्षीय छोरी र आफुलाई खान लाउन समेत समस्या उनले बताइन । स्कुलको फिस नतिरकै कारण कक्षा १ मा पढदै गरेकी छोरीलाई विद्यालयले निस्काशन गरिदिएको सुनिताले जानकारी दिएकी छिन ।
विराटनगरका डा.श्यामले भारतको दिल्ली नजफगढकी सुनिता चौधरीसंग सन २०१६ मा शादी डटकम मार्फत विवाह गरेका थिए । विवाहपछि श्रीमानले आफुलाई ३ पटकसम्म गर्भपतन गर्न बाध्य बनाएको समेत सुनिताले बताएकी छिन । साहका श्रीमान डाक्टर श्याम एमबिबिएस चिकित्सक हुन ।
उनले विराटनगरमैं विराट प्रोफेश्नल ईन्स्टिच्युट संचालनगरि ल्याब असिस्टेन्ट कोर्ष पढाउँछन । सो बिषयमा टेलिफोनमा प्रतिक्रिया दिंदै डा. साहले आफुमाथि लगाईएका आरोपहरु निराधार रहेको दाबी गरेका छन ।
उनले सुनिताले विना कारण झैं झगडा गर्ने गरेको र उल्टै आफुमाथि कुटपिट गर्ने गरेको दाबी गरे । डा.साहले सुनिताले आफुबिरुद्ध माना चामलको मुद्धा हालेको बताउँदै अदालतको फैसला आफुलाई मान्य हुने बताएका छन ।