

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ ।
नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।
यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।